निबन्ध रचना

5,596 views
Skip to first unread message

Global College Of Management

unread,
Sep 20, 2013, 2:24:28 AM9/20/13
to global-college...@googlegroups.com
ग्लोबल कलेज अफ म्यानेजमेन्ट, कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरुका निम्ति  नेपाली विषयको महत्वपूर्ण  सामग्री
                            निर्माण तथा लेखन : डमरु पौडेल
 

 निबन्ध रचना


परिचय
    कुनै शीर्षकमा सम्बन्धित रहेर आफ्ना विचार, भावना र तर्कहरूलाई क्रमबद्ध र एकीकृत रूपमा प्रस्तुत गरिएको सङ्गठित रचना निबन्ध हो । निबन्धको शाब्दिक अर्थ राम्ररी बाँध्नु भन्ने हुन्छ । यसको अर्थ विचार, भावना तथा तर्कहरूलाई एकीकृत गरी सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्नु भन्ने बुझ्नुपर्छ । निबन्ध गद्य विधा हो । निबन्ध कलात्मक हुनुपर्छ । कुनै पनि वस्तुको सोझो वर्णन पनि निबन्ध हुन्छ तर कलात्मक वा साहित्यिक ढङ्गमा लेखिएको निबन्ध राम्रो मानिन्छ ।
निबन्धका प्रकार
शैलीका आधारमा निबन्धलाई आत्मपरक र वस्तुपरक गरी दुई भागमा वर्गीकरण गरिएको छ ।
क) आत्मपरक निबन्ध
    कुनै विषय वा शीर्षकमा केन्द्रित रही लेखकका निजी धारणा, विचार र कल्पनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको निबन्ध नै आत्मपरक निबन्ध हो । आत्मपरक निबन्धलाई निजात्मक वा भावपरक पनि भनिन्छ । यो प्रथम पुरुषप्रधान शैलीमा लेखिन्छ । यस्तो निबन्ध लेखकका वैयक्तिक अनुभूतिहरू अभिव्यक्त हुन्छन् ।
ख) वस्तुपरक निबन्ध
    कुनै विषय वा शीर्षकमा केन्द्रित रही सम्बन्धित विषयको व्याख्या, वर्णन र विश्लेषण गरी लेखिएको निबन्ध नै वस्तुपरक निबन्ध हो । यो भावनात्मक नभई तथ्यपरक र विश्लेषणात्मक हुन्छ ।
निबन्धको ढाँचा
      निबन्ध स्वतन्त्र लेखन हो । दिइएको विषय वा शीर्षकमा केन्द्रित रही वा आफ्नो रुचि र जानकारी अनुसारको विषयशीर्षकमा केन्द्रित रही आफ्ना विचार र भावनालाई जसरी पनि प्रस्तुत गर्न सकिन्छ । आत्मपरक निबन्धमा आफ्नो रुचिअनुसार विषयलाई प्रस्तुत गर्न सकिन्छ । कतिपय वस्तुपरक निबन्धमा चाहिँ विषयवस्तुको वर्णन र प्रस्तुतिमा सचेतता अपनाउनुपर्छ । वस्तुपरक निबन्धमा वर्णनको सिलसिलालाई आदि मध्य र अन्त्यको क्रममा प्रस्तुत गर्नुपर्छ । अर्थात् निबन्ध आदि, मध्य र अन्त्यको शृङ्खलामा लेख्नुपर्छ ।
आदिभाग
    यो निबन्धको सुरुभाग हो । यो सम्बन्धित विषय वा शीर्षकको परिचायात्मक भाग हो । यसमा सम्बन्धित शीर्षकको परिभाषा, परिचय, पृष्ठभूमि वा भूमिका राखिन्छ । यस खण्डमा सामान्यतया एक वा दुई अनुच्छेद रहन्छन् ।
मध्यभाग
    यो निबन्धको प्रमुख भाग हो । यसमा सम्बन्धित विषयको विश्लेषण गरिन्छ । विषयको व्याख्या, वर्णन, महत्व, सुझाव आदि कुराहरू यस भागमा रहन्छन् । सामान्यतया यस भागमा दुई भन्दा बढी अनुच्छेद रहन्छन् ।
अन्त्यभाग
    यो निबन्धको उपसंहार भाग हो । यसमा लेखकले विषयशीर्षकसँग सम्बन्धित आफ्ना विचार र धारणाको निष्कर्ष प्रस्तुत गर्दछ । सामान्यतया यो भाग एक÷दुई अनुच्छेदको हुन्छ ।
निबन्ध लेख्ने तरिका
    निबन्ध स्वतन्त्र गद्यलेखन भएकाले यसलाई जसरी पनि लेख्न सकिन्छ तथापि केही बुँदाहरूलाई ध्यानमा राखेर लेख्न सुरु गर्दा राम्रो हुन्छ । निबन्ध लेख्नुभन्दा पहिला निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्दछ ।
१. आफ्नै रुचिअनुसारको विषयमा लेख्दा होस् या दिइएको विषयका बारेमा लेख्दा होस्
   सबभन्दा पहिले शीर्षकसँग सम्बन्धित बुँदाहरु सङ्कलन गर्नुपर्दछ ।
२. बुँदाहरू आफ्नो निजी ज्ञान अथवा विषयसँग सम्बन्धित अन्य स्रोतबाट सङ्कलन गर्नुपर्छ ।
३. टिपिएका बुँदाहरूलाई सिलसिलाबद्ध रूपमा आदि, मध्य र अन्त्यको क्रम मिलाई विभिन्न
   अनुच्छेदहरूमा लेख्नुपर्छ ।
४. अनुच्छेद योजना गर्दा माथिल्लो र तल्लो अनुच्छेदको सङ्गति देखिने हुनुपर्छ ।
५. सरल र प्रवाहमय भाषामा लेख्नुपर्छ ।
६. विषयवस्तुलाई अनावश्यक तन्काउनु हुँदैन वा विषयभन्दा बाहिर पुग्नु हुँदैन ।
७. परीक्षाको प्रयोजनका लागि भने निबन्धको आकार ३००–४०० शब्दसम्मको उपयुक्त मानिन्छ
८. उल्लिखित तरिका अपनाएर लेखिएको निबन्धलाई परिमार्जन वा साफी रूपमा प्रस्तुत गर्दा
    अझ राम्रो हुन्छ ।

 
वस्तुपरक निबन्धको नमुना

आजको आवश्यकता ः प्राविधिक शिक्षा
    कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ ।
    वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ ।
    हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोमा आर्थिक दृष्टिले, विकास निर्माणका दृष्टिले, रोजगारीका अवसरका दृष्टिले निकै पछाडि परेको छ । यसको एउटा पक्ष रोजगारीका अवसर कम हुनु हो । धेरै जसो मानिसहरू बेरोजगार छन्, जतिले रोजगारी पाएका छन् ती पनि पूर्णकालिक नभई अर्धरोजगार छन् । जब व्यक्तिको आय नै कम छ भने जीवनस्तर राम्रो हुने कुरै भएन । मानिसले आफूलाई पूर्ण रोजगार बनाउन नसक्नुको एउटै कारण प्राविधिक शिक्षाको अभाव हो । यदि व्यक्तिमा प्राविधिक ज्ञान छ भने उसले बिनाकाम समय खेर फाल्नु पर्दैन । हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो । यसको उपयोग गर्न व्यक्तिमा प्राविधिक ज्ञान आवश्यक पर्छ । आज विश्वका विकसित देशहरूमा त्यहाँको प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ । त्यसैगरी जुन–जुन देशमा प्राविधिक जनशक्तिको कमी छ ती–ती देशहरू पछि परेका छन् । हाम्रो जस्तो विकासशील देशमा पहिलो त साक्षरता प्रतिशत नै कम छ भने दोस्रो कुरा प्राविधिक शिक्षालायहरू पनि पर्याप्त छैनन् । जेजति मानिसहरू शिक्षाका प्रमाणप प्राप्त गर्न सफल भएका छन् ती पनि धेरैजसो व्यावसायिकरुपमा काम गर्न सक्षम देखिँदैनन् । अहिले सञ्चालनमा रहेका धेरैजसो विद्यालय र महाविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने शैक्षिक कारखानाका रूपमा रहेका छन् । हाम्रो देशमा मृतसञ्जीवनी बुटीलगायतका अनेकँौँ प्राकृतिक सम्पदा एवम् जलसम्पदा रहेका छन् । मानवकल्याणका लागि यस्ता तत्वहरू पौरखी, परिश्रमी र प्रविधिक सीपयुक्त हातहरूको पर्खाइमा छन् । तर हाम्रो देशको शिक्षा नीति व्यवहारोपयोगी नभएकाले आफ्नै देशमा उपलब्ध हुने वस्तुहरु चिन्न नसकेर विदेशबाट आयात गर्नुपरेको छ । यसले एकातिर आफैसँग भएका महत्वपूर्ण वस्तुहरू मूल्यहीन भएका छन् भने अर्कातिर तीभन्दा कमसल वस्तुहरू विदेशबाट झिकाउनु परेको छ र स्वदेशी धन विदेशिएको छ । देशमा बेरोजगार युवाशक्ति कामको अभावमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको छ । लुटपाट, काटमार, हत्या, आतङ्क, बलात्कार एवम् चोरी, डकैती बढ्दै गएको छ । समाज अस्तव्यस्त बनिरहेको छ । देशको ठूलो युवा जनशक्ति सस्तो मूल्यमा विदेशी आँगनमा श्रम बेच्न बाध्य छ । यहाँ उच्च शिक्षाको मात्र होइन विद्यावारिधिसम्म गरेका शिक्षितहरूसमेत बेरोजगारीको सिकार भई विदेशी आँगन चाहार्न विवश छन् । प्रविधि र प्राविधिक शिक्षामा अघि बढेका जापान, अमेरिका, रसिया, क्यानाडा, चीन तथा अधिकांश युरोपेली देशका नागरिहरूले आज बेरोजगारीको कथा बोकेर अर्काको मुलुक चाहार्नु परेको छैन न त बेरोजगार भएर बस्नु नै परेको छ । देशमा विद्यमान बेरोजगारी समस्या हल गर्न र समाजलाई सुव्यवस्थित एवम् सुन्दर बनाउन हाम्रो देशको शिक्षानीति सुधार गर्नुपर्ने आवश्यकता छ । प्राविधिक शिक्षा दिने विद्यालय एवम् विश्वविद्यालयहरूको सङ्ख्या बढाउनुपर्ने देखिन्छ ।
    व्यक्तिमा श्रमप्रति सम्मान गर्नुपर्ने भावना जागृत गर्न आवश्यक छ । हरेक व्यक्तिलाई उसको रुचिअनुसारको सीप र काम उपलब्ध गराउन सरकारले तुरुन्तै प्रयास गर्नुपर्दछ । शिक्षा हासिल गरेको कुनै पनि नागरिक बेकामे भएर बस्नुपर्ने अवस्था तत्काल अन्त्य गर्नुपर्छ । यसका लागि एउटै उपाय छ, प्रत्येक व्यक्तिले इच्छ ाबमोजिमको प्राविधिक शिक्षा हासिल गर्न पाओस् । शिक्षा आर्जन गरेको व्यक्ति आफ्नै सीपमा बाँच्न सकोस् । जागिर माग्दै हिँड्ने होइन आफैँ रोजगारीको सीपमा बाँच्न सक्ने बनोस् । शिक्षाले सीपयुक्त घरेलु उद्योगको लहर ल्याओस् । कुरा र भाषणभन्दा काम गर्ने बानीको विकास गराओस् । प्रत्येक हातहातमा सीप र घरघरमा उद्योगको विकास गराओस् । सिद्धान्त रटेर र गाइडका पाना घोकेर उच्च अङ्कमा परीक्षा उत्तीर्ण गरी महत्वाकाङ्क्षी पद र जागिरको तपस्यामा जिन्दगी बिताउने शिक्षित होइन सानो सीप र श्रममा रमाउने अनि त्यसैमा जिन्दगी सजाउने नागरिकको निर्माण गरोस् । यसर्थ आज हरेक नागरिक समाज र राष्ट्रको विकास तथा नवनिर्माणका निमित्त प्राविधिक शिक्षा नै अपरिहार्य र अनिवार्य भएको छ ।









आत्मपरक निबन्धको नमुना
मेरो जीवनको लक्ष्य
    म, मेरो जीवन र लक्ष्य एक आपसमा परिपूरक छन् । भनिन्छ – लक्ष्यबिनाको मानिस लगामबिनाको घोडा हो । उमेर र चेतनाको विकाससँगै हरेक मानिस कुनै न कुनै उद्देश्य वा लक्ष्यको सूत्रमा अवश्य बाँधिन्छ । असीमित चाहनाको भारी बोकेर जन्मने मानिस लक्ष्यप्राप्तिको शिखर चुम्ने रहरसँगै हुर्कन्छ, बढ्छ र एकदिन मर्छ । यसर्थ जीवन र लक्ष्य एक अर्कामा अन्योयाश्रित शब्दझैँ लाग्छ, यी दुईका बीच अभेद्य र अकाट्य सम्बन्ध रहेझैँ लाग्छ ।
    जीवन र चेतनाको विकाससँगै मैले पनि एउटा निश्चित लक्ष्यलाई आत्मसात् गरेको छु । चिन्तनको मानसिक चौतारीमा उद्देश्यको एउटा सुन्दर फूल रोपेको छु, जहाँ भोलि अवश्य कोपिला लाग्ला, फूल फुल्ला, ढकमक्क फक्रिएला, अनि संसारका अगाडि सुवास छर्ला । मलाई थाहा छ, मेरो समाज र मेरो राष्ट्रका लागि डाक्टरको खाँचो छ, इन्जिनियरको खाँचो छ, वैज्ञानिकको खाँचो छ, पत्रकार, वकिल, न्यायाधीश, प्राध्यापक, शिक्षक र उद्योगीहरूको खाँचो छ । कवि, कलाकार, प्रशासक र राजनीतिज्ञहरूको पनि खाँचो छ तर सबैभन्दा बढी असल मान्छेहरुको खाँचो छ । यहाँ ठूला मान्छेहरूको बजार छ तर असल मानिसहरूको खडेरी छ । त्यसैले मैले जीवनको एकमात्र लक्ष्य लिएको छु असल मानिस बन्ने, चरित्रवान् कर्तव्यनिष्ठ नागरिक बन्ने । हुनत ममाथि मेरा अभिभावक, मेरा गुरुवर्ग, मेरा आफन्तका सपनाहरूको पहाड छ, जुन पहाडमा अलिकति स्वार्थ अलिकति भौतिक मोहका अनि अलिकति अभिमान र अलिकति नामदामका विषालु वृक्षबीजहरू रोपिएका छन् तर मलाई मेरै बाटो प्यारो छ, मेरै यात्रा रमाइलो छ । मेरो उद्देश्य हृदयको नजिक छ ।
    मलाई थाहा छ मानिसलाई बाँच्नका लागि पैसा अवश्य चाहिन्छ तर पैसाका लागि मात्र बाँच्नेहरू कहिल्यै पनि मान्छे बन्न सक्दैनन् । त्यसैले मैले आफ्नो लक्ष्यका बाटामा सहरिया डाक्टर बनेर गरिब रोगीहरूका पैसाले चिल्ला गाडीमा सवार गर्ने सपना साँचेको छैन । इन्जिनियर भएर गाउँमा पुल बनाउने बजेटले सहरमा महल ठड्याउने विपना कल्पेको छैन । हो, मलाई हर रात हत्यारा, बलात्कारी, तस्कर र भ्रष्टलाई निर्दाेषिताको पगरी गुताउन तथाकथित कानुनका विकृत तानाबाना बुन्ने वकिल र अन्यायी न्यायाधीश बन्नु छैन । कर छलेर कार कुदाउने व्यापारी अनि घुस खाएर घर सजाउने कर्मचारी हुनु छैन, नत हुनुछ पैसाको सौदाबाजीमा कालालाई गोरो बनाउने पीत पत्रकार र शरीर नङ्ग्याएर विज्ञापनको साधन बन्ने आधुनिक कलाकार नै । हो, मलाई मातृभूमिको कोमल छातिमाथि झूट र अहङ्कारको खेती गर्ने नेता बन्नु छैन जसका पापी हातहरू देशका नदीनालाहरु बेच्ने सम्झौतामा हस्ताक्षर गर्न लालायित हुन्छन्ः जनतालाई बलिको बोको बनाउन उत्साहित हुन्छन् । मलाई विदेशी डलरको छायाँभित्र स्वतन्त्रता र अधिकार देख्ने मानव अधिकारवादी बन्नु छैन । मलाई चाहिएको छ केवल मभित्रको इमान्दारिता, सत्चरित्रता र आफ्नो माटो प्रतिको आस्था अनि आफ्नो देश र जाति प्रतिको अटूट विश्वास ।
    हो, कतै समयले मान्छेलाई बनाउँछ अनि कतै मान्छेले समय बनाउँछ । मेरो चाहना छ, म समयलाई हाँक्न सकूँ र म एउटा युगनिर्माण गर्न सकूँ, आफैँभित्र बुद्ध र गान्धी खोज्न सकूँ, लिङ्कन र मण्डेला नियाल्न सकूँ, देवकोटा र पारिजात हेर्न सकूँ, बलभद्र र पासाङ ल्हामु पाउन सकूँ, बेइमानहरुको बजारमा अलिकति इमान्दारिताको बौद्धिक पसल थाप्न सकूँ । इतिहासदेखि वर्तमानसम्मका धेरैधेरै ठूला मान्छेहरुले निरन्तर देश साँघु¥याउँदै ल्याएको कथा मलाई थाहा छ । ठूला मान्छेहरुकै आडमा मेरा दिदीबहिनीहरु बेचिएको कथा मलाई थाहा छ । ठूला मानिसहरुकै अहङ्कारमा धेरैधेरै बालबालिकाहरु टुहुरा भएका, आमाहरुको सिन्दुर पुछिएको र बाबुहरुको सहारा गुमेको पीडा मेरो मनभरि छ । हो, मेरो हृदयभरि छ, ठूला मान्छेहरुले सुकुम्बासी र कमैयाहरु रुवाएको कथा । त्यसैले मलाई ठूलो मान्छे होइन असल मान्छे बन्ने चाहना छ जुन चाहनामा मेरो हृदय मुस्कुराउने गर्छ, मेरो मन प्रफुल्लित हुने गर्छ । हो, यही चाहनाभित्र म सभ्य समाजको प्रतिच्छायाँ देख्छु, सम्पन्न राष्ट्रको प्रतिरुप देख्छु अनि देशको भूगोलभरि सहिदका सपनाहरु मुस्कुराएको देख्छु, साँच्चिकै नयाँ नेपालको आधारशीला भेट्छु ।
    थाहा छैन समयले मलाई कहाँ पु¥याउँछ वा समयलाई म कहाँ पु¥याउन सक्छु, जहाँ पुगे पनि, जे बने पनि, हाकिम भए पनि, पियन बने पनि, देश हाँक्ने नेता भए पनि, भेष बदल्ने अभिनेता बने पनि, डाक्टर भए पनि, पाइलट र इन्जिनियर बने पनि, प्राध्यापक भए पनि, वा प्रशासक बने पनि पहिलो शर्त असल मानिस बन्नेछु । इमान्दारितको कल्पवृक्ष हृदयभित्र उमार्नेछु, जुन वृक्षमा बुद्धत्व फुल्नेछ, सच्चरित्रता फक्रने छ, इमान्दारिताका कोमल पातहरू पलाउनेछन् । मलाई चाहिँदैन सन्ततिका लागि सम्पत्ति । मलाई चाहिँदैन विदेशी सपनाको विकराल पहाड । मलाई चाहिँदैन खोक्रो यश÷कीर्ति र आडम्बरी नाम । मलाई चाहिँदैन पद, पैसा, बाहन र बङ्गलाको विकृत सपना, जुन सपनाले यो देश खोक्रो पारेको छ, समाजको जगमा धमिरा लगाएको छ । त्यसैले मेरो एक मात्र चाहना, एक मात्र कल्पना, एक मात्र उद्देश्य एक मात्र लक्ष्य अनि एक मात्र सपना र एक मात्र विपना छ, असल मान्छे बन्ने, जुन असल मनुष्यत्वले मलाई सच्चा राष्ट्रियताको भाव देओस् । स्वदेशी आँगनमा नै जापान र स्वीट्जरल्यान्डको छायाँ देखापरोस् । आफ्नो माटो र मुटुमा एकरुपता भेट्टाओस् अनि मानवमात्रको कल्याणको कल्पना गरोस्, सर्वाङ्गीण उन्नतिको घडा भरोस् ।

अभ्यास
१.    तल दिइएका बुँदाका आधारमा ‘नयाँ नेपाल निर्माणमा युवावर्गको भूमिका’ शीर्षकमा
        वस्तुपरक निबन्ध लेख्नुहोस् ।
    किशोरावस्था पार गरी प्रौढ अवस्थाले नछोएको वर्ग नै युवा,
    देशको सबल शक्ति नै युवा,
    देश निर्माणमा युवावर्गकै भूमिका बढी आवश्यक,
    समावेशी नयाँ नेपाल अपरिहार्य,
    नयाँ नेपालमा सबै जाति, वर्ग, क्षेत्र र समुदायको महत्व र भूमिकाले स्थान पाउनुपर्ने,
    नयाँ नेपाल निर्माणको आधार सङ्घीय राज्यव्यवस्था, सीपमूलक शिक्षा, सर्वसुलभ स्वास्थ्य, यातायात र बाटोको सुविधा, औद्योगीकरण, रोजगारी अभिवृद्धि र वैज्ञानिक कृषि उत्पादनमा जोड, राजनीतिक स्थिरता र स्थायी शान्ति आवश्यक,
    चेतना र जागरण भएका युवाको सक्रियतामा देश बन्ने,
    युवाले नै समाजमा चेतना जगाउनुपर्ने,
    युवाले नै राजनैतिक तथा प्रशासनिक नेतृत्व लिनुपर्ने,
    देश निर्माणका निम्ति सबै युवाबीच सद्भाव, सहिष्णुता र साझेदारी हुनुपर्ने,
    युवाले नै देशमा विद्यमान् समस्याहरू समाधान गरी विकासको मूल फुटाउनुपर्ने,
    सबै युवा विदेशी सपना र व्यक्तिगत स्वार्थ त्यागी सबल नयाँ नेपाल निर्माणमा सक्रिय हुनुपर्ने ।
२.    तल दिइएका प्रतीक र सङ्केतअनुसार ‘मेरो देश मेरो गौरव’ शीर्षकमा आत्मपरक
       निबन्ध लेख्नुहोस् ।
    म सम्पूर्ण नेपालीको प्रतीक वा साझा रूप,
    आफ्नो देश नै स्वाभिमानको सर्वाेच्च शिर,
    पुर्खाको शौर्य र त्यागले परिपोषित तथा निर्मित देश,
    सर्वाेच्च हिम टाकुराहरू सगरमाथा, कञ्चनजङ्गा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े आदि,
    तराई, पहाड, हिमालको भौगोलिक विविधतामय सन्दर्भ,
    मात्राभन्दा गुणले आफ्नो देश सबैभन्दा ठूलो,
    असङ्ख्य नदीनाला र तालझरनाहरु,
    कला संस्कृतिको अपूर्व वैभव,
    बुद्धको जन्मस्थल,
    अनेक जातजाति वर्ग र समुदायको साझा स्थल,
    प्राकृतिक सौन्दर्यको खानी,
    अपार खानी र स्रोतसाधनको भण्डार,
    दुनियाँका सबै देशभन्दा आफूलाई आफ्नै धर्ती प्यारो,
    आफ्नो मन, आफ्नो तन, हृदय, चिन्तन र आत्मगौरवको प्रतीक नै आफ्नो देश,
    उन्नत सम्पन्न देश निर्माणमा आफूलाई समर्पण गर्ने ।

३.    दिइएका बुँदाका आधारमा ‘नेपालमा पर्यटन उद्योग, सम्भावना र चुनौती’ शीर्षकमा
       निबन्ध लेख्नुहोस् ।
    ज्ञान र मनोरञ्जनका लागि गरिने भ्रमण नै पर्यटन,
    मानिस भ्रमणप्रिय प्राणी,
    नेपाल भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य र ऐतिहासिक कला संस्कृतिको भण्डार,
    पर्यटकको पहिलो रोजाइ नै पा्रकृतिक सौन्दर्यको अवलोकन
    नेपाल पर्यटकीय आकर्षणको केन्द्र,
    ताल, गुफा, नदी, झरना, हिमाल, वन, वन्यजन्तु, आरक्षण केन्द्रको उचित प्रचारप्रसार आवश्यक,
    सांस्कृतिक स्थल, ऐतिहासिक वस्तु, मठमन्दिर र प्राचीन कलाको व्यवस्थित संरक्षण गर्नुपर्ने,
    विविध जातीय तथा क्षेत्रीय संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने,
    सुविधायुक्त होटल, लज र रेष्टुराँहरूको विकास, विस्तार आवश्यक,
    राजनैतिक शान्ति, प्रशासकीय चुस्तताको आवश्यकता,
    सडक तथा हवाई यातायातको विकास आवश्यक,
    होटल व्यवस्थापन तथा पर्यटन सम्बन्धी कलेजहरूको विकास,
    पर्यटन विश्वविद्यालयको स्थापन,
    पर्यटन प्रबर्धनले रोजगारीको व्यापक अभिवृद्धि गर्ने,
    पर्यटनले विदेशी मुद्रा आर्जनमा ठूलो टेवा पु¥याउने,
    पर्यटन उद्योग देश विकासको मूल आधार,
    पर्यटन उद्योगको विकासमा सबै वर्ग, क्षेत्र र सरकारको ध्यान जानु आवश्यक ।

४.    परीक्षाका लागि सम्भावित शीर्षकहरु ः
(१)    स्वच्छ वातावरण ः स्वस्थ जीवन
(२)    मलाई मन पर्ने साहित्यकार
(३)    मेरो बाल्यकाल
(४)    मेरो कल्पनाको संसार
(५)    लागूपदार्थ दुव्र्यसन
(६)    विकासका लागि सञ्चार
(७)    समयको महत्व
(८)    हाम्रो संस्कृति, हामे्रा वैभव
(९)    सामाजिक उत्थानमा महिला वर्गको भूमिका
(१०)    सङ्घीय लोकतन्त्र
११) नेपालको पानी सम्पत्तिको खानी
१२) लोकतन्त्र


Reply all
Reply to author
Forward
0 new messages