एभरेष्ट टाइम्स पत्रिकाको वर्ष २ अंक ९ मा प्रकाशित "मलाइ त शंका लाग्यो"
कविता गोरखालीहरुमाथि ठाडो अपामानपूर्ण छ । त्यसमा प्रयुक्त शब्दले
गोरखाली समुदाय र गोरखाली महिलाहरुलाइ थप अपमानित तुल्याएको छ ।
वेलायतमा रहेको एक जिम्मेवार सामाजिक संस्थाको महासचिवसमेत रहेका दुत
पुनले चिम्खोले काइंलाको नामबाट सो कविता लेखेको थाहा पाउंदा गोरखाली
समुदायलाइ झनै लज्जित बनाएको छ । हाम्रै भूपूहरु, हाम्रै नेपालीहरु किन
नेपालीको वदख्वाइं गर्छन् बुझ्न सकिएन । हाम्रो समाजको जिम्मेवार पदमा
बसेका मान्छेले यस्तो घटिया कविता कोरेको पटक्कै सुहाएन ।
हुन त उनी स्वयम्ले आफ्नो कविताबाट भूपू सैनिक दाजुभाइ दिदीबहिनीहरुमा
पुग्न गएको नकारात्मक सन्देशप्रति BFBS Gurkha Radio मार्फत र पत्रिकाको
तर्फबाट पत्रिका मार्फत माफी पनि मागिसकिएको छ । कविता लेख्न अगाडि नै
कविजीलाइ भविष्यमा यस्तो असर पर्छ भन्ने बुद्धि आइदिएको भए उनले माफी
मागिरहनु पर्नै नै थिएन त्यस्तै पत्रिकाले पनि सामाजिक मर्यादा ख्याल
गरेको भए शीर झुकाउनु पर्ने नै थिएन ।
सो कविताबाट गोरखाली समुदायलाइ पुगेको चोटको क्षतिपूर्ति त कसैगरि हुन
सक्दैन तै पनि पत्रिकाले गोरखाली समुदायको प्रतिष्ठामा आंच पुग्न गएकोमा
क्षमा मागेर राम्रो काम गरेको छ । गल्ती सबैबाट हुनसक्छ, गल्तीको
प्रायश्रित गर्नु बुद्धिमानी काम हो, गल्तीबाट पाठ सिक्दै भविष्यमा गल्ती
नदोहोर्याउनु झन् असल कार्य हो । तर एभरेष्ट टाइम्स पत्रिकाले वर्ष २
अंक १५, २०६६ पुस १५ गते, वुधवारको अंकमा समयसान्दर्भिक कविता शीर्षक
पाठकपत्र छापेर के गर्न खोजेको हो बुझ्न सकिएन । एकातिर भूपूहरुसित माफी
पनि माग्ने अर्कोतिर धाकधम्कीको त्रासमा माफी माग्न परेको पाठकपत्र पनि
छाप्ने ?
टुंगो लागिसकेको विषय पत्रिकाले ब्यूंताउन खोजेको हो ? पत्रिकाले के
चाहेको हो आफ्नो धार प्रष्ट गरोस् । भूपूहरु सधैंभरि माफी दिन
सक्दैनन् । अन्त्यमा पाठकपत्रका लेखक हिराधन रार्इजीलार्इ त्यो कविताको
शब्दहरु राम्ररी बुझेर अध्ययन गर्न अनुरोध गर्दछौं । तपाइको घरमा आमा,
दिदीबहिनी, छोराछोरीहरु र नरनाताहरुको बीचमा बसेर कविता पनि वाचन गर्न
अनुरोध गर्दछौं । एक भूपू भएर भूपू समुदायकै खिल्ली उडाउंदा
समयसान्दर्भिक ठान्दै ताली पड्काउने तपाइलाइ कुलद्रोही भन्ने कि
नभन्ने ?
हिराधनजी, कि तपाइ पश्चिमा भइसक्नु भयो ? याद राख्नुस हांस जतिकै
वदि्लए पनि त्यो हांस नै हो कहिल्यै परेवा हुन सक्दैन त्यसकारण गोरखाली
मात्र होइन जुनसुकै समुदायको इज्जतमा धक्का पुग्ने काम जोसुकैले गरे पनि
निन्दा गर्नैपर्छ । इज्जत बढाउने काम गरेमा प्रशंसा गर्नैपर्छ । भविष्यमा
कसैले यस्ता घृणित काम नगरेमा नै नेपालीहरुको हित हुन्छ सबै गोरखाली,
नेपालीहरुलाइ हेक्का रहोस ।
सम्पूर्ण गोरखा र गोरखा महिलाहरुको तर्फबाट
जितबहादुर राइ
कमला गुरुड
____________________________________________
एभरेष्ट टाइम्समा प्रकाशित कविताको खण्डन
श्री प्रकाशक तथा सम्पादकज्यू
एभरेष्ट टाइम्स,
बेलायतबाट प्रकाशन भइरहेको एभरेष्ट टाइम्स साप्ताहिकको २४ नोभेम्बर २००९
को अंकमा 'मलाई त शंका लाग्यो' शीर्षकको कविताप्रति यस गोरखा भूतपूर्व
सैनिक संघ (गेसो) केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ।
दुईसय वर्षदेखि बेलायतको शोषण, भेदभाव र अन्यायमा पिल्सिँदै आएका गोरखा
भूतपूर्व सैनिक समुदायलाई ती अमानवीय भेदभावबाट मुक्त गर्दै न्याय
दिलाउनमा गोरखा भूतपूर्व सैनिकहरुले खेलेको भूमिका गोरखा भूतपूर्व सैनिक
समुदाय मात्र होइन राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायमाझ पनि दिनको
घामजस्तै छर्लङ्गै छ। आम गोरखा भूतपूर्व सैनिकहरुले कल्पनासमेत गर्न
नसकेका महत्वपूर्ण उपलब्धिहरु यस संघको अगुवाई, पहल र नेतृत्वमा प्राप्त
भएको सबैले स्वीकार गरेकै तथ्य हो। गोरखा भूपू सैनिक समुदायले त ती
उपलब्धिहरु प्रत्यक्षरुपमा उपभोग पनि गरेकै हुन्। गेसोले आन्दोलन शुरु
गर्नु अगाडि उनीहरुको अवस्था के, कस्तो थियो? उनीहरुले पाउने सेवा,
सुविधा कति थियो र अहिले कति छ? सबै भूतपूर्व सैनिकहरुले छातीमा हात
राखेर सोच्दा हुन्छ।
सिंगो गोरखा भूतपूर्व सैनिक समुदाय र उनीहरुको यस्तो ऐतिहासिक आन्दोलनलाई
बदनाम गराउने, लाञ्छना लगाउने आशय र अर्थबाट लेखिएको सो कविता आफैँमा
स्तरहीन, पूर्वाग्रही मात्र होइन साहित्य र कविताको नाममा कलंक हो।
साहित्य त तथ्यमा आधारित हुन्छ। जसका बारेमा लेखिएको हो उनीहरुको मन,
मुटुमा भिजेको हुन्छ। शालिन हुन्छ। ओजिलो हुन्छ। त्यसमा व्यक्त शब्दहरुको
गहन भाव हुन्छ तर आफ्नो परिचय समेत लुकाएर छद्म नामबाट लेखिएको सो
कवितामा व्यक्त भाव र चयन गरिएको शब्द नेपाली समाजमा पचाउन समेत नसकिने
छ। यसले विश्वमै न्यायिक आन्दोलनमा नाम कमाएको गोरखा आन्दोलनको धज्जी
उडाउने असफल प्रयत्न गरेको छ र संघर्षशील गोरखा भूतपूर्व सैनिकहरुलाई
'हुँडार' भनी घोर अपमान र बेइज्जत गरेको छ। आफ्नै बलबुता, लगानी, मिहिनेत
र संघर्षबाट स्थापित गोरखा आन्दोलनलाई अरुको बलमा आश्रित, अरुको
परिश्रममा प्राप्त भनी हिलो छ्याप्ने दुस्साहस लेखक र पत्रिकाले कुन
शक्तिको आडमा गरको हुन्? गम्भीर प्रश्न उब्जिएको छ।
त्यतिमात्र होइन कवितामा व्यक्त शब्दले गोरखा आन्दोलनका एक महत्वपूर्ण
हिस्सा साबित गोरखा भूतपूर्व सैनिक महिला वर्गको अस्तित्वमाथि धाबा
बोलेको छ। यो अत्यन्तै अश्लील र भद्दा साहित्यको नमुना हो। सारमा
भन्नुपर्दा यो कविता नभई गोरखा आन्दोलनको उपलब्धिलाई देख्न नसक्ने मति
बिग्रेकाहरुको नग्न प्रहसन मात्र हो।
यस्ता पूर्वाग्रह, दुराशय, घृणित अभिप्रायले लेखिएका सिर्जना छापेर
पत्रिकाले आफ्नो स्तर त गुमाएको छ नै न्यायिक अभियानका पक्षधरहरुमाथि
छुरी रोप्ने माध्यम पनि बनेको छ। हामी यस्ता दुस्साहस र हर्कतको घोर
भर्त्सना गर्दछौँ। पत्रिका तथा लेखकलाई गोरखा भूतपूर्व सैनिक समुदाय तथा
गोरखा भूतपूर्व महिला समुदायमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती पनि
दिन्छौँ। पत्रिका र कविताका लेखकले आफ्ना अपराध कबुल गरी पत्रिकामार्फत्
सार्वजनिकरुपमा गोरखा भूतपूर्व सैनिक समुदाय र गोरखा भूतपूर्व सैनिक
महिलाहरुसमक्ष माफी माग्न हामी आग्रह गर्दछौँ। यदि त्यसो नगरिएमा हामी
सम्पूर्ण गोरखा परिवार कानूनी र सार्वजानिकरुपमा अगाडि बढ्न बाध्य हुनेछौ
।
कमला गुरुङ
केन्द्रीय सचिव
____________________________________________
<strong>यो एकाईसौ सताब्दी हो ।</strong>
एभरेष्ट टाईम्सको बर्ष २ अंक... बुधवार १५ पुष २०६६ मा प्रकाशित हिराधन
राईद्धारा लिखित समयसान्दर्भिक कबिता शिर्षक्को लेखले एभरेष्ट टाईम्सको
प्रकाशकज्यू लाईनै कम्जोर देखाएकोछ । यसरी एउँटा प्रकाशक जस्तो
ब्यक्तिलाई त्यस्तो कम्जोर सोच्नु भनेको दुखको कुरो हो,यस्मा हामीलाई
ज्यादै दुख लागेकोछ ।
मलाई शंका लाग्यो शिर्षक्को कबिताले होइन,नमिठो शब्दले केहीहड सम्म भूपू
परिवारहरुलाई मात्र नभएर तनाम नेपालीहरुलाई चोट पुर्याएकै कारणले
प्रकाशकज्यूबाट मिठो कबिताको तितो शब्द प्रती आत्मालोचना गर्नुभएकै हो ।
योनै हामीले प्रजातान्त्रिक गौरब हो भनेर महसुस गरेकाछौ । मिठो कबिताको
तितो शब्दले नेपाली प्रेश स्वतन्त्रता र मानब अधिकारको हनन भएको महसुस
गरेर प्रकाशकज्यूले क्षमा मागिसक्नु भएको अवस्थामा लेखकज्यू तपाईं किन
आफ्नो हात्त आँफैले ढुंगामा पछार्दै बाटोमा रुदै हिंड्नु हुन्छ । त्यसरी
नरुनुहोस् योत एकाइसौ शताब्दी हो,अब गोरखा परिवारले पनि केही बुझेकोछ,
त्यसैले लेखकज्यू बिरुवालाई ढुंगामा रोप्नु नखोजौ, बिरुवालाई मल र माटोमा
रोपौ, र नेपाली प्रेश स्वतन्त्रता, मानब अधिकार र मौलिक हक अधिकारको
संरक्षण र सम्बोर्दन गरौ ।
धन्यवाद,
सर्बराज राई