अहिले नयाँ शक्तिका धेरै कुरा आएका छन् । नयाँ वा पुरानो शक्तिको कुरा गर्नुभन्दा पहिला हाम्रो राजनीतिक इतिहासलाई एकपटक हरौं । नेपालमा १ सय ५० वर्ष जत्ति राणा शासन रहृयो । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनासँगै केही समय संक्रमणकाल रहृयो । त्यसपछि नेपालमा पञ्चायत शासन आयो र त्यसले ३० वर्ष नेपालमा शासन गर्यो । पहिलो जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र आयो । यो १५ वर्षजति टिक्यो । १ सय ५० वर्ष, ३० वर्ष, १५ वर्ष । बहुदलीय प्रजातन्त्रले पनि पुगेन र हामी गणतन्त्रमा आएका छौं । तर, अगाडि लम्किनका लागि अझैसम्म हामीले पहिलो पाइला समेत चाल्न सकेका छैनौं । त्यो भनेको नयाँ संविधान ।
नयाँ र पुरानो हैन, सक्षम शक्ति भनौं
योबेलामा हामीले नयाँ शक्ति, पुरानो शक्ति भनिरहेका छन् । तर, मलाई के लाग्छ भने इतिहासलाई हेर्ने हो भने नयाँ पुरानोभन्दा पनि अब सक्षम शक्ति, ठिक शक्तिको खोजी गर्ने बेला आएको छ, जुन शक्तिले १ सय ५० वर्षबाट, ३०, ३० बाट १५ र १५ बाट ५ मा झर्ने मात्र होइन कि एउटा संविधान लेख्यो, फेरि ५ वर्षपछि अर्को संविधानसभाको चुनाव गर्नु नपर्ने गरी हामी सबैले विचार गर्नुपर्यो कि अब कस्तो शक्ति चाहिएको हो देशलाई ?
पुरानो, नयाँको कुरै होइन । अब सक्षम शक्ति चाहिएको छ, जसमा मजस्तो मान्छे, जो राजनीतिमा लागेको छैन, सर्वसाधारण मान्छेले राजनीतिमा किन चासो देखाउने त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । म पहिले नै भन्न चाहन्छु कि लोकतन्त्र, गणतन्त्र, जे तन्त्र भने पनि मूल कुरा प्रजातन्त्र हो । प्रजातन्त्र भनेको देश कसको जनताको । म बैंकर, कोही विद्यार्थी, इन्जिनियर, डाक्टर सबैले मेरो मात्र काम गर्छु भनेर प्रजातन्त्रमा हुँदैन । प्रजातन्त्रमा हाम्रो अधिकार मात्र होइन कि जिम्मेवारी पनि हो कि कस्तो शक्ति चाहियो त यो देश बनाउनका लागि ।
राजाको तन्त्र होइन, कुनै शक्तिको तन्त्र होइन, सैन्य शक्तिको तन्त्र होइन, प्रजाको तन्त्र भएकाले प्रजातन्त्रमा कुनै पनि प्रजाले चासो देखाउँदैन भने जसलाई जे मन लाग्यो त्यही गरे हुन्छ । योभन्दा हामीले जुन बाटो लिएको छ, त्यो गलत बाटो पो हो कि ? हामी स्थिरताको कुरा गर्छौं तर, १ सय ५० वर्षबाट ३०, १५ हुँदा अब पाइला नै चाल्न नसक्ने अवस्था आएको छ । अब के गर्ने त ?
त्यसैले म भन्छु, जुन मान्छे राजनीतिमा हुनुहुन्छ र सक्षम पनि हुनुहुन्छ, जसको भिजन छ, उहाँहरु एकजुट हुनुपर्यो देश बनाउनका लागि । म यो पार्टी, यस्तो चिन्ह, यो विचार होइन, नेपालवादी बनौं । कुनै विदेशी किताब पढेर मेरो किताबमा यो भन्छ भनेर भन्ने सोसलिस्ट, कम्युनिष्ट क्यापिटालिस्ट होइन, नेपालिस्ट चाहियो ।
नेपालका लागि के चाहिन्छ त ? हाम्रो हिमाल, पहाड, तराई, खोलानाला हेरेर, जनशक्ति हरेर हामीलाई के चाहिन्छ भन्ने किताब हामी आफैं लेखौं । कुनै दशक अगाडि कसैले लेखेको किताबलाई हेरेर यसो गर्नुपर्छ भन्ने तन्त्र चाहिएन अब ।
नेपाल कस्तो हुनुपर्छ ?
अहिले संविधान लेख्ने कोसिस भइरहेको छ । त्यही भएर मैले मेरो विचारमा नेपाल कस्तो हुनुपर्छ भनेर आफ्नो कुरा राख्न खोजेको हुँ । मेले धेरै विचार गरेँ, लाग्यो अब बोल्न बोला भयो । खुलामञ्चमा छलफल हुनुपर्यो किन भने देश भनेको हामी सबैको हो ।
मैले अहिले हेर्दा डा. हर्क गुरुङले नेपालको चित्र कोर्नु भएको थियो । पाँचवटा प्रान्त, २० वटा जिल्ला । हरेक प्रान्त उत्तरदेखि दक्षिणसम्म । धेरै प्रान्त बनाउँदा धान्न सक्छौं कि सक्दैनौं भन्ने पनि हेरौं । प्रान्त बनेपछि उसका आफ्ना संरचनाहरु चाहियो । त्यसलाई कसरी चालाउने । त्यसैले हर्क गरुङमा मेरो धेरै प्रभाव छ । उहाँले अध्ययन गरेर नै पाँच प्रान्तको अवधारणा अघि सार्नु भएको हो ।
प्रान्तका नामहरु खोलाको नामबाट राखौं । किनभने कुनै मान्छे हिमालमा, कुनै पहाडमा र कोही तराईमा होला । मनौं एउटा प्रान्तको नाम सगरमाथा राखियो । तराई र पहाडमा बस्ने सगरमाथा देखेको हुँदैन । सगरमाथा के हो भने किताब मात्र पढेको छ । तर, प्रान्तको नाम नारायणी, गण्डिकी, बाग्मती भन्ने हो भने हिमालमा बस्नेले पनि यही हो बाग्मिती, त्यही भएर प्रान्तको नाम बाग्मती भन्छन्, तराईमा बस्नेले पनि भन्छ ।
हुन त जातीय नामका कुराहरु पनि आएका छन् । नेवाः राज्यकै कुरा गरौं न । मेरो हजुरआमा भक्तपुरको हो । त्यसो हुँदा नेवा राज्य भए त म खुसी नै हुन्छु । तर, यहाँ नेवार बढी छ कि गैर नेवार ? त्यहाँ पहिलो चुनाव हुँदा नेवार पराजित हुने र ठकुरी, बाहुन आउने भएपछि के हुन्छ ? होइन, जनताले जे गरे पनि मुख्यमन्त्री नेवार नै हुने भए राजतन्त्रभन्दा पनि तानाशाह हुन्छ ।
अब बन्ने प्रान्तमा स्वायत्तता उहाँहरुको हुन्छ । हरेक प्रान्तमा एउटा विधायिका हुन्छ । सबैले बुझेको छ कि छैन, कि हरेक प्रान्तमा चुनाव हुन्छ, संसद जस्तै निकाय हुन्छ । हरेक व्यवस्थापिकामा मैले देखेको ५० जनादेखि ७० जनाभन्दा बढी मान्छे हुनुहुँदैन । अनि एउटा मुख्यमन्त्री हुन्छ । उनलाई चाहिने केही मन्त्रालय हुनुपर्छ । र, हरेक प्रान्तमा एकजना गर्भनर हुन्छ । गर्भनरलाई राष्ट्रप्रमुखले नियुक्त गर्छन् । किनकि सबैसँग समन्वय गर्न सकियोस् ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ
केन्द्रमा के गर्ने भन्दा मेरो विचारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । यस्तो राष्ट्रपति राजनीतिक दलबाट पनि हुनसक्छ, स्वतन्त्र पनि हुनसक्छ । देशभरि सबैले मतदान गर्छन् र एकजना कार्यकारी राष्ट्रपति चुन्छन् । यसरी बन्ने प्रधानमन्त्रीलाई मन्त्रीहरु नियुक्त गर्ने अधिकार हुन्छ र सबैभन्दा सक्षम नेपालीहरुलाई मन्त्री बनाउनुपर्छ । यो नेपाल वा बाहिर बसेका जो सक्षम छ, उसलाई ल्याउँछन् । उनीहरु राजनीति गरेर हिँड्दैनन्, आफ्नो काम गर्छन् ।
अर्कोतिर तल्लो सभा भनेको जस्तै पिपुल्स काउन्लिस बनाऔं । हरेक प्रान्तबाट ३० जना ल्याउने हो भने १ सय ५० जनाभन्दा बढी चाहिँदैन ।
अर्को, माथिल्लो सभा भनेको जस्तो एल्डर काउन्सिल बनाऔं । जसमा ५०/६० जना हुनसक्छन् । लोअर हाउसमा हरेक प्रान्तबाट निर्वाचित भएर आउनुपर्छ भने अपर हाउसमा निर्वाचित र मनोनितलाई मिलाएर बनाउनुपर्छ । यो दुई संस्थाले कानुन बनाउने काम गर्छन् । कार्यकारी राष्ट्रपतिलाई चेक एण्ड ब्यालेन्स गर्ने काम पनि यसैले गर्छ ।
यहाँ आउने मान्छे म मन्त्री बन्छु, यो गर्छु त्यो गर्छु भनेर होइन, मैले देशलाई चाहिने कानून बनाउँछु भन्ने ल्याउँ । ठीक सोच भएको मान्छे जान्छन् । राजनीतिमा लागेका मान्छेलाई तलब भत्ता चाहिन्छ भन्ने होइन । देशका लागि काम गर्न राजनीतिमा लाग्ने हो ।
दुईखाले डाक्टर
आजभोलि दुईखालका डाक्टरहरु छन् । एकखालका मानिसहरु म डाक्टर बनेर बिरामी मान्छेहरुको उपचार गर्छु, उनीहरु धनी हुन् वा गरीब । अर्कोथरि म डाक्टर बन्छु किनभने म डाक्टर बनें भने यति पैसा कमाउन सक्छु । डाक्टर बनेपछि म यो देशमा जान सक्छु ।
हो, अब हामीले निर्णय गर्ने बेला भयो कि कस्तोखालको राजनीतिक नेता चाहियो ? पहिलो किसिमको डाक्टर जस्तो कि दोस्रो ? मेरो विचारमा पिपुल्स काउन्सिल र एल्डर काउन्सिलमा पैसा कमाउँछु भन्ने होइन कि ठीक सोच भएका मान्छेहरु जानुपर्छ । अनि जनताले हामीलाई ४/५ वर्ष कसले लिड गर्ने भनेर पार्टी मात्र हेर्दैनन् कि मान्छे पनि हेन्र्छन् ।
कांग्रेसको एउटा उम्मेदवार होला, माओवादीको एउटा होला, एमालेको अर्को होला । राप्रपा, मधेसी सबैको आ आफ्नो उम्मेदवार होलान् । उनीहरु राष्ट्रपति हुन देशभरिबाटै चुनिएर आउनुपर्छ । यसले अहिले देशमा जुनखालको विभाजन देखिन खोजेको छ । मैले प्रस्ताव गरेको व्यवस्थाले कुनै पनि नेताले म यो प्रान्तको नेता, यो जातको नेता भन्छ भने त्यस्तो पार्टी रहँदैन । यसले आउने राष्ट्रपति कुनै पार्टीकै भए पनि पार्टीको लाइन मात्र बोक्ने होइन कि देशको हुनुपर्यो । देशको राष्ट्रपति भएपछि नेपाललाई कसरी बनाउने भनेर सोच्नुपर्छ । म राष्ट्रपति हुँदा यो यो काम भएको थियो भनेर भन्न सक्ने हो भने उहाँको भिजन देशकै हुन्छ ।
संविधानमा राख्नुपर्ने थप कुरा
यो सबै भएपछि संविधानमा हुनुपर्ने केही कुरा छन् । धार्मिक स्वतन्त्रता । म जुन भगवानलाई पूजा गर्न चाहन्छु, पाउनुपर्यो । यो नै गर्नुपर्छ भन्ने हुँदैन । देशको एउटा धर्म हुन्छ कि हुँदैन त्यो अर्को कुरा हो । तर, धर्म जे हो, त्यो गर्न पाउँ । चाहे हिन्दु हुँ, बौद्ध, मुलिस्म जे सुकै धर्म होस् ।
अर्को, नेपाली भनेपछि म नेपालको कुनै पनि ठाउँमा गएर बस्न सक्नुपर्छ र त्यहाँ कारोबार गर्नुसक्नुपर्यो र आफ्नो जीन्दगी बनाउन पाउनुपर्छ । म कुनै एउटा प्रान्तमा बस्छु, अर्कोमा जानुपर्यो भने भिसा चाहिन्छ भन्ने हुँदैन । हिँडडुल गर्ने, व्यापार गर्ने स्वतन्तता चाहिन्छ ।
अर्को, सम्पत्तिको स्वतन्त्रता, मान्छेले काम गर्छ, घर बनाउँछ, दुईवटा भैसी राख्छ, खेत किन्छ भने निजी सम्पत्तिको अधिकार हो । अर्को, बोल्ने स्वतन्त्रता । त्यही स्वतन्त्रता भएर म एउटा बैंकर्सले राजनीतिको कुरा गरिरहको छु । त्यस्तै, अर्को समानताको अधिकार । कुनै पनि मान्छे धर्म, जात, प्रान्तका कारणले मैले जाँचमा ८० प्रतिशत ल्याएँ, तपाईले ९० प्रतिशत ल्याउनुभयो । तर, मेरो जातले मैले सहुलीयत वा प्राथमिकता पाउने भन्ने हुँदैन । नेपालका सबै छोराछोरी समान हुनुपर्छ ।
खोलानाला, खनिज सहितका प्राकृतिक सम्पत्तिहरु केन्द्र सरकारको मातहतमा राख्नुपर्छ । किनभने हाइड्रोमा कुनै ठूलो लगानीकर्ता आयो, केन्द्रमा सम्झौता भयो । तर, बाग्मती विष्णुमतीबाट त निस्कँदैन । पश्चिम, पूर्व कता हुन्छ, जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो खोलामा काम गर्न मसँग सम्झौता गर्नुपर्छ भन्यो भने कसले लगानी गर्ला ? त्यसैले प्राकृतिक सम्पत्ति देशको हो । त्यसबाट केही प्रान्तलाई दिनुपर्छ । पूर्ण अधिकार भने केन्द्रको मातहतमा हुनुपर्छ ।
अर्को कर । कसैले आफ्नो बस्तु वा सेवा एउटा प्रान्तमा उत्पादन गर्छ र अर्को प्रान्तमा बेच्न चाहन्छ तर, त्यहाँ पुग्न तीन प्रान्त पार गर्नुपर्छ भने हरेक प्रान्तले कर लगायो भने नेपालका कुनै बस्तुको बिक्रीबट्टा बन्द हुन्छ । विदेशी मात्र चल्छ । त्यसैले राजमार्गहरु संघीय हुनुपर्छ र त्यसमा कसैले कर लगाउन सक्दैन । तर, हाइवेबाट भित्र पसेर कुनै प्रान्तमा व्यापार गर्न चाहन्छ भने त्यहाँ कर लगाउन सकिन्छ ।
यो सबै मैले भनेको छु भने अर्को किसिमको सोच राखौं । पुरानो सबै चिज नराम्रो भन्ने हुँदैन । पुरानामा धेरै राम्रा छन् । आज पर्यटक किन नेपाल आउँछन् भन्दा पुर्खाहरुले बनाएका दरबारहरु हेर्न, घुम्न । हामीले बनाएको नयाँ चिज हेर्न त होइन । सिंहदरबार पनि त राणा शासनमै बनेको त हो नि । त्यसैले अरुले गरेकोबाट पनि सिकौं, सबैका कुरा सुनौं । साँच्चै नेपाललाई राम्रो बनाउने हो भने यो शक्ति पुरानो नयाँ भन्दा पनि सक्षम शक्ति चाहियो ।
राजनीति चलाउने नेताले नै हो
मैले दखेको छु, अहिले नै राजनीतिमा लागेका धेरै सक्षम हुनुहुन्छ । उहाँहरुले आँट्नुपर्यो । पार्टीका लागि मात्र होइन, नेपालका लागि केही गर्नुपर्यो र नेपालवादी सोच राख्नुपर्यो । राजनीति चलाउने राजनीतिज्ञले नै हो ।
यो संविधानसभा युवा सभासदहरुले अन्तरपार्टी कुरा पनि गरिरहनु भएको छ । अघिल्लोमा चुइँयसम्म थिएन । त्यसैले योपटक आएको आवाजलाई अझ बलियो बनाऔं । हामी सहयोग गर्छौं । माओवादी, कांग्रेस, एमाले जे सुकै होस्, तपाईको सोच हामीसँग मिल्छ भने हामी समर्थन गर्छौं । हामीले चाहेको सोच भनेको नेपालवादी हो । यसका लागि कुनै फोरम नै बनाउनु पर्दैन । सबैको कुरा सुन्नु मात्र पर्छ र राम्रो कुरा आयो भने खुला सोचका साथ छलफल गरौं । नेपालवादी भनेको राम्रो कुरा हो यसलाई सबै लिउँ, जुन नेपाललाई ठीक हुन्छ । तर, उँट भने नबनाऔं ।
म एउटा नेपालको नागरिक भएर हेर्दा यसमा विचार गरिदिनुस् । एकै पटक होइन नभन्नुस् । किन होइन त ? किन मैले भनेको मात्र राम्रो भन्ने ? त्यसैले किन भनेर त भन्नुस् । उहाँहरुले किन भनेर भन्नुपर्छ र हामीले पनि अब किन भनेर सोध्नुपर्छ । किन भन्ने हाम्रो अधिकार हो । अहिले नसोध्ने हो भने एउटा संविधान आउँछ अनि चिया पसल र भट्टीमा बसेर हत्तेरीका भन्ने अधिकार हामीसँग रहँदैन । त्यसैले केही भन्नुछ, केही सुनाउनुछ भने अहिले नै भनौं ।