संविधान सभाको विघटनप्रति संघीय मञ्चको धारणा सार्वजनिक:
एकात्मक षडयन्त्रमा भएको संविधान सभाको विघटनप्रति खेद प्रकट
नेवाः काठमाडौं, ३० मे २०१२/
ऐतिहासिक संविधान सभा विघटन हुनुमा एकात्मकवादी विरोधी एमाले-कांग्रेसले पहिचानसहितको संघीयता अस्वीकार गर्नु प्रमुख कारण भएको जनाउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान सभाको विघटन र त्यसपछि उत्पन्न नयाँ परिस्थितिबारे आफ्नो साङ्गठानिक धारणा सार्वजनिक गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले जेष्ठ १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक संविधान सभाको विघटन हुनुमा एमाले-कांग्रेसलगायत सभाध्यक्ष र एमाओवादीका संस्थापन पक्ष तथा मधेशी मोर्चाका सबै पक्षहरू जिम्मेवार रहेको मञ्चले ठहर गरेको छ ।
साथै, सोही प्रेसविज्ञप्तिमार्फ् मिति २०६९ जेष्ठ १७ गतेको कान्तिपुर दैनिक पत्रिकामा 'संविधान सभा विघटनको पक्ष र विपक्षमा' भन्ने शीर्षकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई ताजा निर्वाचन गराउने कदमको विपक्षमा, खासगरी एमाले-कांग्रेसको पक्षमा, राखेर बनावटी समाचार सम्प्रेषण गरी भ्रामक प्रचार गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो समाचार सतप्रतिशत झूट र कपोलकल्पित भएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोको जोडदार खण्डन गर्दै घोर विरोध र भर्त्सना गरेको छ । साथै, यो झूट समाचार छापेर भ्रम सिर्जना गरेकोले उक्त कान्तिपुर दैनिक पत्रिकाले सो समाचारप्रतिको मञ्चको खण्डनलाई प्राथमिकताका साथ स्थान दिई छापेर अविलम्ब सच्याउनु पर्नेसमेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- ''संविधान सभा विघटन गर्न नायक र खलनायकको भूमिका खेल्ने सबै पक्षको भण्डाफोर गर्दै ताजा जनादेशको चुनौतीलाई पनि सामना गरी जनतामाझ जाने र 'संघीयतवादी'हरूको आँधिवेहरी सिर्जना गर्ने लक्ष्य बोकेको सो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एकात्मकवादी एमाले-कांग्रेसजस्तो लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थरुहट, मिथिला र खसानलगायतका संघीय-स्वायत्त राज्यहरूको विरोधी पार्टीको कित्तामा राखेर भ्रामक समाचार सम्प्रेषण गरिनु खेदपूर्ण षडयन्त्र हो । संघीय मञ्च कहिले पनि एमाले-कांग्रेसजस्तो पहिचान विरोधी पार्टीको कित्तामा रहन नसक्ने जानकारी पनि यसै विज्ञप्तिमार्फत् गराउँदछौं ।''
संघीय मञ्चले संघीयता विरोधी एकात्मकवादीहरूको षडयन्त्रमा भएको संविधानसभाको सुनियोजित विघटनप्रति खेद प्रकट गर्दै नेपालभरका पहिचानसहितको संघीयताका पक्षधर संघीयवादी शक्तिहरूलाई गोलवद्ध गर्दै संविधान सभाको ताजा जनादेशका लागि चुनावमा जाने चुनौतीलाई सामना गर्ने नै मञ्चको आधिकारिक धारणा रहेको कुरा पनि सोही विज्ञप्तिमार्फ् सार्वजनिक गरेको छ।
- डीबी आङ्बुङ लिम्बू
-- --------
Regards,
DB Angbung Limbu
Secretary
for
Information
Federal Democratic National Forum